काँग्रेसलाई अवसरसँगै चुनौतीको चाङ !
३० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको बहिर्गमनसँगै नेपाली काँग्रेसले पहिलो पटक राज्यको नेतृत्व गर्दै सरकार बनाएको छ ।
अदालतको निर्णयपछि एमाले र माओवादी केन्द्र आआफ्नो ठाउमा फर्किएपछि एमाले गण्डकीबाट सत्ताच्युत हुनु परेको छ । कर्णाली र सुदुरपश्चिममा माओवादी केन्द्रले काँग्रेस र एमालेका नेपाल पक्षका सांसदको संह्योग लिएर सरकार बचाए भने प्रदेश २ मा जसपाको महन्थ ठाकुर पक्षलाई हटाएर जसपाको यादव पक्षले काँग्रेसलाई सरकारमा सामेल गराएको छ ।
२०७४ फागुन ४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङ करिब साढे ३ बर्षको सत्ता संचालन पछि नेकपा विभाजनको शिकार हुदै सत्ताबाट बाहिरिएका छन् ।
उनले सत्तामा रहने प्रयास गरेपनि प्रदेश सभाको अंक गणित उनको विरुद्धमा भएपछि काँग्रेसले सरकार बनाउने अवसर पाएको छ ।
काँग्रेसलाई अवसरसँगै चुनौती
कृष्णचन्द नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बनेपछि उनी काँग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका छन् ।
संबिधान बनेपछि देश संघीय गणतन्त्रमा गएपछि काँग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने किर्तिमान ७१ बर्षिय पोखरेलले बनाएका छन् । पोखरेल कोरोना महामारीको कठिन अवस्थामा प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । पोखरेललाई यो अवसरसँगै चुनौती अनि रहेको छ ।
उनलाई सबैभन्दा ठुलो चुनौती कोरोना महामारीविरुद्ध लड्ने हुने छ भने दोस्रो चुनौती केन्द्रमा रहेको राजनीतिक अन्यौलताको पनि असर पर्ने छ । अहिले गण्डकी प्रदेश देशभरमा सबै भन्दा बडी संक्रमण प्रतिशत रहेको प्रदेश हो । त्यस्तैले पोखरेल नेतृत्वको सरकारले कोरोनासँग लड्ने आफ्नो योजना कसरी ल्याउछ यो गण्डकी मात्र होइन पुरै देशका लागि चासोको विषय रहेको छ ।
काँग्रेसले केन्द्रदेखि प्रदेशमा सरकारले कोरोनाविरुद्ध लड्न नसकेको आरोप लगाइरहेका बेला अब गण्डकीमा काँग्रेसको अग्नि परीक्षा शुरु भएको छ ।
काँग्रेसको जित की ओलीको हार ?
गण्डकीमा गुरुङ नेतृत्वको सरकारको बहिर्गमनलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको पहिलो जितको रुपमा विपक्षी दलहरुले लिएका छन् ।
प्रधानमन्त्री ओलीका अत्यन्त निकट मानिने गुरुङको सरकार बचाउन केन्द्रबाट प्रधानमन्त्री ओलीले पनि भरपुर प्रयास गरेका थिए । उनले गण्डकीको राजनीतिक दाउपेच पेचिलो हुने बुझेरनै माओवादी केन्द्रका अमिक शेरचनलाई हटाएर एकाएक आफ्नो विश्वास पात्र सीताकुमारी पौडेललाई प्रदेश प्रमुख बनाएर पठाएका थिए । प्रदेश प्रमुख पौडेलले पनि ओली र उनी पक्षप्रति विश्वास देखाउदै शुरुमा नै निष्पक्षता देखाउन चुकेकी थिइन् ।
तर शनिबार उनले संबिधानको प्रावधान अनुसार निर्णय लिदै विपक्षी नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर थप विवादबाट बचेकी छन् ।
दीपक मनाङेले बचाइदिए प्रदेश सभा
गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङेले प्रदेशसभा भंग हुनबाट मात्र बचाएका छैनन् उनको भूमिकाका कारण एमाले सरकारबाट बाहिरिएको छ र विपक्षी दल काँग्रेस पहिलो पटक प्रदेश सरकारको नेतृत्वमा पुगेको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले गुरुङको साथ छोडेपछि उनको सरकारमा रहिरहने र आफ्नै नेतृत्वमा निर्वाचन गराउने योजना बिग्रिएको थियो ।
मनाङेले प्रदेश सभा भंग गर्ने गुरुङको योजनालाई साथ नदिने भन्दै ३० पट रहेका विपक्षी दलहरुलाई सडकबाट सरकारमा पुर्याउन भूमिका खेल्दै किंग मेकर बनेका छन् । विगतको पृष्ठभूमिका कारण सधै आलोचना हुने मनाङे राजनीतिक यात्रामा भने परिपक्कता देखाउदै प्रदेश सभालाई पुरा कार्यकाल चलाउन किङमेकरको भूमिका खेलेका छन् ।
मुख्यमन्त्री पोखरेल र चार मन्त्रीको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन् । पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ एक कार्यक्रमका बीच शपथ गराएकी हुन् ।
मुख्यमन्त्रीमा पोखरेलको शपथपछि काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री पदको शपथ लिएका छन् ।
शपथ लिएका चारै जना मन्त्रीले बिना विभागीय मन्त्रीको शपथ लिएका छन् ।
सरकारलाई समर्थन गरेको जनमोर्चा भने सरकार बाहिर रहेर समर्थन गर्ने बताइएको छ ।
पोखरेल काँग्रेससहित माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार शनिबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस्