गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू हुँदै, कांग्रेसको सरकार बन्ने सम्भावना

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि शुक्रवार प्रदेश प्रमुखसमक्ष जानकारी गराइँदैछ ।
पोखरा सभागृहमा डाकिएको प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठकमा पृथ्वीसुब्बा गुरुको प्रस्तावमा विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको प्रदेश प्रमुखसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।
बिहान ११ बजेका लागि तय प्रदेशसभा बैठक १२ बजेसम्म पनि शुरू भएको छैन ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी पनि संसदमा गराइने भएको छ । उनी संसदीय दलको ह्वीप विपरीत बिहीवारको मत विभाजनमा विपक्षीमा मतदान नगरी तटस्थ बसेका थिए ।
गण्डकीमा मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नेछिन् । सो व्यवस्था बमोजिम कुनै पनि सदस्यले बहुमत पुर्याउन सके सरकार बनाउन सक्नेछ ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्यमन्त्रीले बिहीवार राति नै पदमुक्त गरिसकेका छन् । विश्वासको मतको पक्षमा मतदान गर्ने दिन संसदमै अनुपस्थित रही विपक्षीलाई सघाउने सार्वजनिक घोषणा गर्दै आएका मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय आफैंले सम्हाल्ने गरी पदमुक्त गरेका हुन् ।
मनाङेले नेपाली कांग्रेस नेतृत्वको विपक्षी दलहरूलाई समर्थन गरे सरकार बन्न सक्नेछ । जसमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ गरी कूल ३१ सदस्य स्वतः पुग्नेछ ।


प्रतिकृया दिनुहोस्