पेरुको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कास्टिलोले जित्ने सम्भावना बढ्यो
२८ जेठ, काठमाडौं । पेरुमा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता पेड्रो कास्टिलोले अनुदारवादी प्रतिद्वन्द्वी केइको फुजीमोरीमाथि ६३ हजार भोटको झिनो अग्रता लिएका छन् ।
कास्टिलोको ५०.२ प्रतिशत मत छ जुन फुजीमोरीको भन्दा ०.३६ प्रतिशतको अग्रता हो । अहिलेसम्म ९९.४ प्रतिशत मतगणना भइसकेको छ ।
फुजीमोरीले मतगणनामा धाँधली गरिएको भन्दै हार मान्न गर्न अस्वीकार गरेकी छन् ।
राजनीतिक रूपमा सिकारु नै रहेका विद्यालय शिक्षक कास्टिलोले संविधान पुनर्लेखन गर्ने र उत्खननबाट प्राप्त सम्पत्ति पुनर्वितरण गर्ने प्रतिज्ञाका साथ जनताको मन जितेका हुन् । उनको यस प्रतिज्ञाले तामा खानी भएको पेरुका राजनीतिक तथा व्यापारिक सम्भ्रान्तहरू आत्तिएका छन् ।
‘जनता जागेका छन्,’ कास्टिलोले राजधानी लिमास्थित एक भवनको बाल्कोनीमा समर्थकहरूका अगाडि भाषण गर्दै भने । विभाजनकारी निर्वाचन अभियानपछि सबै जनतालाई एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।
फुजीमोरीले हार स्वीकार नगरी शंकास्पद लागेका पाँच लाख भोट रद्द गर्न माग गरेकी छन् ।
कास्टिलोको पेरु लिब्रे पार्टीले शंकास्पद गतिविधिको कुनै प्रमाण नरहेको बताएको छ ।
स्वतन्त्र पर्यवेक्षकहरूले मतदान प्रक्रिया निष्पक्ष रहेको बताए ।
निर्वाचनको वैधतालाई निगरानी गर्ने संस्था नेसनल जुरी अफ इलेक्सन्सले मतगणनामा धाँधली गरेको भन्ने अनि प्रमाण पेश नगर्ने काम गैरजिम्मेवार भएको बताएको छ ।
प्रतिकृया दिनुहोस्