सर्वाेच्च अदालतको फैसला स्वीकारेर एमाले एकतामा सहमति गरौं : गोकर्ण विष्ट

२७ जेठ, काठमाडौं ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले सर्वोच्च अदालतले दिने जुनसुकै फैसलालाई स्वीकार गर्ने गरी सहमति र एकता बनाउन सकिने बताएका छन् ।

पार्टी भित्रको आन्तरिक किचलो विभिन्न बहानामा सर्वोच्च अदालत पुगेको भन्दै पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गर्ने सहमति बनाउन सकिने स्पष्ट पारे ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता विष्टले दुवै पक्षका नेताहरूले आफ्नो व्यक्तिगत इगो र मैले गरेको सही भन्ने अडान त्याग्नुपर्ने बताए । संवादको क्रममा नेता विष्टले प्रतिनिधिसभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठ्यारो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने उपाय हुने बताए ।

पार्टीभित्र देखिएको व्यक्ति–व्यक्तिबीचको टसलले, अडानको कारणले पार्टीलाई नै समाप्त पार्ने दिशामा लैजान नदिन पार्टी एकता र कम्युनिस्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर पनि एकताको ढोका खोल्न सकिने नेता विष्टले तर्क गरे ।

पार्टीको आन्तरिक किचलोमा पार्टी भित्रका अतिवादी सोच भएका केही व्यक्ति र बाहिरका केही शक्तिले खेलिरहेको स्वीकार गरे । बाहिर भएकालाई पार्टीभित्रै ल्याउनै हुन्न भन्ने र बाहिर रहेकाले आफ्नो अडान नमाने छुट्टै बाटो बनाउनुपर्छ भन्ने विचारले अन्तरकलह बढाइरहेको नेता विष्टले बताए ।