लुम्बिनीमा रासायनिक मलको पर्याप्त उपलब्धता, बिक्रेता भन्छन्– ‘यसपालि अभाव हुँदैन’

२७ जेठ, काठमाडौं ।  कृषि बालीका लागि आवश्यक रसायनिक मलको अभाव यस वर्ष नहुने देखिएको छ । अहिले खेतीबालीको मुख्य समय शुरू भइसकेको छ । 

यस वर्ष कृषि सामग्री केन्द्र, साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेड र सहकारीहरूमा पर्याप्त मल भण्डार रहेको बताइएको छ । गत वर्ष देशभर मलको चरम अभाव भएको थियो । 

कृषि सामग्री केन्द्र भैरहवा रूपन्देहीका प्रमुख पुन्यप्रसाद घिमिरेले यस वर्षका लागि मल भण्डार रहेको बताए । संस्थानमा रहेको मल जिल्ला–जिल्लाका सहकारीले लैजाने क्रममा रहेको बताए । 

‘हामीसँग अहिले २० हजार मेट्रिक टन मल मौज्जाद छ,’ घिमिरेले भने, ‘जिल्ला जिल्लामा वितरण केन्द्र र कृषि सहकारीले पनि दैनिक रूपमा ८००/९०० टन मल लगिरेहका छन् । अझै १७ हजार मेट्रिक टन मल आउने प्रक्रियमा छ । केही दिनभित्र आउँछ ।’

‘मलको माग ‘अनलिमिटेड’ हुन्छ । एउटा व्यक्तिलाई यो वर्ष ४० केजी लग्यो भने अर्को वर्ष ६०, अर्को वर्ष ९० केजी खरिद गर्न गर्छ । भने, अर्को वर्ष नगदे बाली लगाएर मल नै नलैजान पनि सक्छ । त्यसैले यति नै माग हो भन्न सकिँदैन । तर, समग्रमा अहिले मल त्यति अभाव देखिएला जस्तो छैन,’ घिमिरेले थपे ।

गत वर्ष भदौमा सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन मध्ये १७ हजार टन आउनै बाँकी रहेको छ । नेपाल सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जीटूजी) सम्झौताअनुसार मल खरिद भएको थियो । 

नेपालमा ७० प्रतिशत मल कृषि सामग्री संस्थान र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ  कर्पोरेसनले खरिद गर्दै आएको छ । केन्द्रबाट, रुपन्देही, गुल्मी, अर्घाखाँची र प्यूठानका सहकारीहरू आएर लैजान्छ ।

प्रदेशका अन्य जिल्लामा शाखामार्फत नै मल वितरण हुने गर्छ । धान रोपाइँका बेला डीएपी मल चाहिन्छ । रोपाइँपछि धानलाई युरिया मल दिनुपर्छ । तर, नेपाली किसानले हरेक वर्ष मल अभाव झेल्दै आइरहेका छन् । समयमै मलको टेन्डर नहुने र टेन्डरपछिको सम्झौताअनुसार ठेकेदारले मल नल्याइदिँदा हरेक वर्ष किसानले अभाव खेप्नुपरेको कपिलवस्तुका किसान रामहरि जैसवाल बताउँछन् ।

‘मुख्य सिजनकै लागि हामीले मल पाइँदैन अनि कसरी देशको उत्पादन र बढ्छ ? मलकै अभावले पनि नेपाल खाद्य उत्पादनमा परनिर्भरता बढ्दै गएको छ,’ किसान जैसवाल भन्छन्, ‘रासायनिक मल कति महत्त्वपूर्ण हुन्छ भने यसलाई बेवास्ता गर्न सकिँदैन । आधुनिक व्यावसायिक कृषिलाई विचार गर्दा रासायनिक मलको राज्यले गतिलो विकल्प पनि दिन सकेको देखिँदैन ।’ 

नेपालमा करीब १ करोड ५० लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । कृषि सामग्री कम्पनी लिमिटेड परासी शाखाका प्रमुख खडानन्द बञ्जाडेले तत्कालका लागि किसानहरूलाई आवश्यक पर्ने मल रहेको र निषेधाज्ञाले आलोपालो गरेर किसानलाई बितरण गरिएको बताए ।

बञ्जाडेले भने, ‘किसानलाई समस्या हुँदैन । निर्देशिकाअनुसार नै हामीले  वितरण गरिरहेका छौं । किसानलाई अभाव हुन दिँदैनौं । मल पर्याप्त छ ।’

परासीमा कम्पनीसँग अहिले १ हजार मेट्रिक टन डिएपी र ८ सय टन युरिया मल छ । कम्पनीले जिल्लाका ५५ वटा सहकारीमार्फत मल वितरण गर्दै आएको छ । सहकारीहरूले रकम जम्मा गर्न पनि समस्या छ । 

अर्कातर्फ मल वितरण गर्दा किसानहरूको भीड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने भएकाले पनि समस्या आएको छ । प्रशासनले पनि अनुमति दिएको छैन,’ बञ्जाडेले भने । निषेधाज्ञा अवधिभर मल वितरण गर्ने अवस्था नरहेको र त्यसपछि प्रशासनको अनुमतिमा मल वितरणको व्यवस्था गर्न सकिने बञ्जाडेको भनाइ छ । 

सरकारले अहिले मल खरिदका लागि १२ अर्ब रूपैयाँ विनियोजन गरेको छ । गत वर्ष ११ अर्ब छुट्टाइएको थियो । तर, १२ अर्ब रुपैयाँ पनि पर्याप्त नभएको घिमिरे बताउँछन् । गत वर्ष मलको चरम अभाव हुँदा नेपालमा पनि मल उद्योग खुल्ने चर्चा चले पनि अहिलेसम्म त्यसतर्फ काम अगाडि बढेको देखिँदैन ।