गण्डकीमा मनाङेको ‘यूटर्न’, मुख्यमन्त्री गुरुङ संकटमा !

२७ जेठ,  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरिरहेका बेला स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सरकारको साथ छोडेका छन् ।

यसअघि मुख्यमन्त्री गुरुङले सरकार जोगाउन मन्त्री बनाएपनि अहिले उनी विपक्षी गठबन्धनमा लाग्ने संकेत दिएका छन् ।

मनाङे बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएपछि उनले सरकारलाई साथ छोडेको पुष्टि भएको छ ।

स्रोतका अनुसार मनाङेलाई फकाउन मुख्यमन्त्रीले राजीव पहारीसहित ३ सांसदलाई बुधबार साझ दूत बनाएर पठाएपनि उनले संसद विघटन गर्ने शर्तमा सरकारलाई समर्थन गर्न नसक्ने स्पष्ट गरेको बताइएको छ । मुख्यमन्त्री गुरुङले प्रदेश सभा भंग गरेर निर्वाचनमा जान साथ मागेको बताइएको छ । 

उनले आफु संसद जोगाउने पक्षमा भएको भन्दै जसले ३० सांसदको हस्ताक्षर लिएर आउछ उसलाई साथ दिने बताएको बुझिएको छ ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मनाङेले साथ छाडेपछि मुख्यमन्त्रीसँग अहिले एमालेको २७ मत छ । जनमोर्चाका कृष्ण थापा तटस्थ बस्ने भनेको बेला काँग्रेसको १५  र माओवादी केन्द्रको ११, जसपाको २ र जनमोर्चाको २ सिट रहेको छ । यस अवस्थामा मनाङे विपक्षी गठबन्धनमा लागेमा विपक्षीलाई सरकार बनाउन आवश्यक ३१ मत पुग्ने देखिन्छ ।