अमेरिकाद्वारा ५० करोड डोज फाइजर खोप विश्वका गरिब देशलाई सहयोग गर्ने तयारी

२७ जेठ,  काठमाडौँ । अमेरिकाले विश्वका सय गरिब देशहरुलाई ५०० मिलियन डोज (५० करोड) फाइजरको खोप वितरण गर्ने भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी-७ देशहरुको बैठक अघि यसको घोषणा गर्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । 

आगामी दुई बर्ष भित्र संयुक्तराष्ट्रसंघको कोभ्याक्स कार्यक्रम मार्फत ५ करोड डोज फाइजरको खोप वितरण गरिने बताइएको छ । 

युरोप भ्रमणमा जानु अघि राष्ट्रपति बाइडेनले जी-७ बैठकमा विशेष घोषणा गर्ने बताएका थिए ।

अमेरिकी मिडिया रिपोर्टमा यस बर्ष फाइजरको २०० मिलियन डोज खोप वितरण गर्ने र २०२२ मा बाँकी ३०० मिलियन डोज खोप वितरण गर्ने अमेरिकाको तयारी रहेको उल्लेख छ । यसको औपचारिक घोषणा जी-७ को बैठकमा राष्ट्रपति बाइडेनले गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।   

अमेरिकाले यस अघि ८० मिलियन डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ । अघिल्लो साता मात्र २५ मिलियन डोज सहयोगको घोषणा गरेको अमेरिकाले जुन महिना भित्र ८० मिलियन डोज खोप सहयोग गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

अमेरिकाले घोषणा गरेको खोप सहयोगको ७५ प्रतिशत कोभ्याक्स अभियान मार्फत वितरण हुने र २५ प्रतिशत सिधै वितरण हुने बताइएको छ ।