गण्डकी प्रदेशको प्रदेश सभा बैठक शुरु, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै

२७ जेठ,  पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक शुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदै छन् ।

नेपालको संविधान धारा ७६ (३) अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त  गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

अहिले मुख्यमन्त्री गुरुङले सम्बोधन गरिरहेका छन् ।

६० सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पुर्याउन ३१ सांसदको समर्थन चाहिन्छ ।

विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीति टुङ्गोमा पुग्दैन । पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ । विपक्षी गठबन्धनमा लागेका राष्ट्रिय जनमोर्चाका थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहोर्याउँदै आएका छन् ।

संसद्मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेको २८ मत छ । विपक्षमा नेपाली काँग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ र स्वतन्त्र राजीव गुरुङसहित २८ मत रहेको छ ।