२०७८ भदौमै पार्टीको महाधिवेशन हुन्छ : देउवा

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौ महिनामा जसरी पनि महाधिवेशन हुने बताएका छन् ।

असार र साउन महिनामा तयारी गरेर भदौमा महाधिवेशन गर्ने प्रतिबद्धता देउवाले जनाएका छन् ।

बुधवार एक विज्ञप्ति प्रकाशित गरी देउवाले समयमै महाधिवेशन हुनेमा आशंका नगर्न आग्रह गरेका हुन् । 

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरीका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाले भनेका छन् ।