ओलीको एकताको प्रस्ताव सकारात्मक- योगेश भट्टराई

२४ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे प्रस्ताव सकारात्मक भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षसँग एकताको लागि ६ बुँदे प्रस्ताव गर्दै पार्टीलाई सशर्त जेठ २०७५ जेठ ३ अघिको अवस्थामा लैजाने प्रस्ताव गरेका छन् ।

नेता भट्टराईले प्रस्ताव सकारात्मक रहेको भन्दै यस प्रस्तावले कार्यदलस्तरमा छलफल गर्न बाटो खोलेको बताएका छन् ।

नेता भट्टराईले भनेका छन्-   

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको वक्तव्यले पार्टीको शिर्ष नेतृत्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।