मन्त्रीबाट बर्खास्तपछि मोटरसाइकल चढेर बाहिरिए जितेन्द्र सोनल

२४ जेठ, जनकपुरधाम । मुख्यमन्त्रीले बर्खास्त गरेपछि प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल एक सुटकेस लिएर मोटरसाइकल चढेर बिदा भएका छन् ।

सोनाल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट एक सुटकेस लिएर मोटरसाइकल चढेर मन्त्री क्वाटरबाट बाहिरिएका हुन् ।  

मन्त्री निवासबाट बाहिरिनु अघि उनले आफूलाई पार्टीले अन्य जिम्मेवारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘म मन्त्री रहुँ वा नरहुँ देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरि रहनेछु ।’

आइतवार साँझ प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमा रहेर पनि सरकारको सवालमा सन्तोसजनक काम नगरेकोले  जसपाको ठाकुर पक्षका सोनलसहित थप ३ राज्यमन्त्रीलाई  बर्खास्त गरेका थिए ।

जसपाको केन्द्रमा विवाद भएपछि अब यसको असर प्रदेश २ मा देखिएको छ । जसपाको यादव पक्षले काँग्रेस र माओवादी केन्द्रको समर्थनमा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको बुझिएको छ ।