प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा जसपा ठाकुर पक्षका चार मन्त्री बर्खास्त

२४ जेठ, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले आइतबार साँझ जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

प्रदेश २ सरकारमा सोनाल भौतिक पूर्वाधारमन्त्री थिए भने झा, शर्मा र मण्डल राज्यमन्त्री रहेका थिए ।

यसअघि जनता समाजवादी पार्टीले आजै प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको थियो ।

जसपाको यादव पक्षले काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी बनाउने प्रयास गरिरहेको छ ।

प्रदेश २ मा हाल १०४ सांसद रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले तीन जनालाई कारवाही गरेपछि १०४ सांसद रहेका छन् । जसमा जसपाका ५५ सांसद मध्ये तत्कालिन समाजवादी पार्टीका ३० जना र राजपाका २५ जना रहेका छन् । 

त्यस्तै प्रदेशमा एमालेका २१ मध्ये नेपाल पक्षका १३ र ओली पक्षका ८ सांसद छन् । नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद रहेका छन् ।