नेपालले आत्मविश्वाससहित आज जोर्डनको सामना गर्दै
२४ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा आज जोर्डनको सामना गर्दै छ ।
खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ
हाल कुवेतमा रहेको नेपाली टिमले गत विहिबार चाइनिज ताइपेइविरुद्ध २-० गोल अन्तरको जित निकालेको थियो । यसअघि जेठ १५ गते राति नेपालले आफुभन्दा निकै बलियो टिम इराकविरुद्धको खेल ६-२ गोल अन्तरले हारेको थियो ।
नेपाल र जोर्डनबीचको तुलना गर्दा जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान अगाडी रहेको छ । नेपाल हाल १७१औ स्थानमा रहेको छ भने जोर्डन ९५ स्थानमा रहेको छ ।
यसअघि नेपाल र जोर्डनबीच तीन खेल भएका छन्, जसमा दुई खेलमा नेपाल पराजित भएको छ भने एक खेल बराबरीमा रोकिएको थियो ।
नेपाललाई जोर्डनले २०११ को जुलाई २३ मा विश्वकप छनौटकै खेलमा ९-० ले पराजित गरेको थियो भने त्यसको एक सातापछि काठमाडौँमा जुलाई २८ मा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै अहिलेको विश्वकपको छनौटको पहिलो खेलमा २०१९ अक्टोबर १५ मा नेपाल ३-० गोल अन्तरले पराजित भएको थियो ।
के भन्छन् प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ?
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेलमा जितको रणनीति बनाएको बताएका छन् ।
खेलअघि आइतबार आयोजित भर्चुअल प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक अल्मुताइरीले जोर्डन बलियो टिम भएपनि नेपालको लक्ष्य जित नै रहेको बताएका हुन् ।
कन्फ्रेन्समा अल्मुताइरीले आफुहरुले राम्रो तयारी गरेको भन्दै फुटबलमा सबैकुरा सम्भव हुनसक्ने बताएका छन् । उनले भने, ‘जोर्डन निकै बलियो टिम हो, तर केही सञ्चारमाध्यमले जोर्डनविरुद्ध नेपालको कुनै सम्भावना नरहेको बताएका छन् । तर फुटबलमा केहि पनि सम्भव छ ।’
त्यस्तै जोर्डनका प्रशिक्षक भिटाल बोरकेलमन्सले आफुले नेपालको इराक र चाइनिज ताइपेइविरुद्धको खेल हेरेको बताउदै नेपालको खेल्ने शैलीमा परिवर्तन भएको देखेको बताएका छन् ।
नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ । समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।
समुहमा अष्ट्रेलिया १५ अंक जोड्दै शीर्षस्थान छ भने कुवेतको ६ खेलमा १० अंकसहित दोस्रो र जोर्डनको ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ६ खेलमा कुनै अंक छैन ।
नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनौको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ ।
अब नेपालले विश्वकप छनोट आफ्नो अर्को खेल जुन ११ मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ ।
प्रतिकृया दिनुहोस्