सडक जनावरको स्याहार गर्दै अल केयर नेपाल

२३ जेठ बुटवल । सडकमा छाडा चौपाया तथा जनावरहरु देख्दा सबैभन्दा पहिला पालिकाले व्यवस्थापन गर्नुपर्ने भन्ने सोच आउँछ । कतिसमय सडकमा रहेका गाईगोरु तथा कुकुरहरुको कारणले सडक दुर्घटना पनि हुन्छन् । दुर्घटनामा परेर मृत्यु भए त शबलाई व्यवस्थापन गरिन्छ, तर घाईतेहरुलाई के गरिन्छ, कसैले सोच्दैनन् ।

सामान्य अवस्थामा रहेका जनावरहरु आफ्नो आहाराको खोजिमा यताउता भौतारिएपनि बिरामी र अशंक्त जनावरुलाई निकै समस्या पर्दछ । शहरी क्षेत्रमा रहने सडक जनावरहरुमा फ्याकीएका कुराहरु खाएर त कसैले घर बाहिर राखेको खाँदै बाँचिरहेका हुन्छन् । विशेषगरी कोरोनाको महामारि फैलिएसंगै भएको लकडाउको कारणले गर्दा सडक जनावरहरुले खानेकुरा पाउन छाड्दै गएका छन् । गाईगोरुले सडक डिभाईडर तथा केही खाली स्थानको घाँस खाएपनि कुकुर बिरालो जस्ता अन्न खाने जनावरहरुको लागि निकै समस्या भईरहेको छ ।

रुपन्देहीमा एउटा यस्तो संस्था छ जसले बुटवल र तिलोत्तमा क्षेत्रका वेवारिशे कुकुर, बिराला तथा दुर्घटना एवं अन्य कारणले अपांग भएका गाईगोरुहरुको उपचार गरिरहेको छ । अल केयर नेपाल नामक संस्थाले बुटवल तथा तिलोत्तमा क्षेत्रमा विगत १ वर्षदेखि सडकमा रहेका कुकुरहरु तथा गाईगोरुहरुको उपचार एवं स्याहार गरिरहेको हो । 

संस्थाका संस्थापक दिपक रिजालले यस क्षेत्रका सडक कुकुरहरुलाई उपचार एवं खाना खुवाईरहेको बताए । उनले एक वर्षको समयमा करिब २ सय कुकुरहरुको उपचार गरिएको जनाए । उनले विश्व रेविज दिवसकै दिनमा मात्रै बुटवल तथा तिलोत्तमा क्षेत्रका १ सय बढि कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएको बताए ।  

उनले भने–‘हामीले कतै दुर्घटनामा परेका वा केही रोग लागेर दुख पाएका जनावरहरुको बारेमा आएको सुचनाको आधारमा उपचार गरिरहेका छौँ । हामीसंग भेटनरी डाक्टर पनि हुन् ।’ आफ्नै खर्चमा उपचार गरिरहेको बताउँदै उनले एउटा जनावरको उपचारको लागि न्युनतम पनि ५ हजार खर्च हुने गरेको बताए ।

साथै अल केयर नेपालले बुटवलको ईट्टभट्टी देखि होराईजन चोक सम्मका करिब ४० कुकुरलाई बेलुका मासु भात खुवाईरहेको बताए । दैनिक ४ केजी चामल र ४ केजी कुखुराको खुट्टा र टाउको पकाएर खुवाउने गरेको संस्थाका संस्थापक रिजालले जानकारी दिए ।

उनले अहिले उपचार गर्ने कुकुर तथा जनावरहरुलाई राख्नको लागि तिलोत्तमा नगरपालिकाले केही जग्गा दिन लागेको बताउँदै यो संभव भएमा टहरो बनाएर उपचार गरिने बताए । कुनै कारणले समस्यामा परेका गाईहरुलाई आवश्यक उपचार गरि गौशालालाई हस्तान्तरण गर्ने गरेको बताए ।

सानो छँदासम्म मायाले पाल्ने र बुढो भएपछि छाडा छाड्ने प्रचलनले गाईगोरु एवं कुकुरहरुको संख्या बढिरहेको उनले बताए । उनी भन्छन् –‘सानोमा ल्याएर पालेको कुकुरलाई घरकै सदस्य गरी राख्ने तर जब बिरामी भएर उपचारमा खर्च गर्ने बेला हुन्छ, छाडा छोड्ने नगरौँ । यसले छाडा जनावरको संख्या त बढाउँछ नै जोखिम पनि बढ्दै जान्छ ।’

जनावरलाई माया गर्नेहरु, अन्य भोलिन्टेयरहरुको सहयोगमा संस्थालाई निरन्तर चलाईरहेको बताउँदै उनले छाडा चौपाय थपिन नदिनको लागि सबैले पहल गर्नुपर्ने बताए । उनले आफुहरुको यो अभियानमा साथ दिनको लागि आग्रह गर्दै भने –‘होटलहरुमा प्रयोग हुने बोनलेसबाट बँचेको हड्डीहरु हामीलाई सहयोग गरेमा पनि सहयोग हुने थियो ।’