मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार गरियो- राजेन्द्र महतो

२३ जेठ काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति गलत अर्थ लाग्ने गरि प्रचार गरिएको बताएका छन् ।

महतोले उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्दै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा राखेका थिए भने शनिबारको एक कार्यक्रममा पनि सोहि अभिव्यक्ति दोहोराएका थिए ।

महतोले शनिबार राति विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको बताएका छन् । उनले भनेका छन्, ‘हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ ।’

उनले भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छ ।’