अमेरिकाद्वारा नेपालसहित विश्वका विभिन्न देशलाई कोरोनाविरुद्धको खोप दिने घोषणा

२१ जेठ, काठमाडौँ । अमेरिका नेपाललाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्र संघको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित एशियाका विभिन्न देशलाई ७० लाख डोज कोरोनाको खोप दिने घोषणा गरेको काठमाडौँस्थित अमेरिकी दुताबासले जानकारी दिएको छ ।

दुताबासले भनेको छ- ‘हामी विश्वव्यापी रूपमा नै कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड-१९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन प्राप्त गर्नेछन् । हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ ।’

अमेरिकाले नेपाललाई कति डोज खोप दिन्छ भन्ने बारेमा भने स्पष्ट गरिएको छैन । एशियामा दिने ७० लाख डोज खोप नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफ्गानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवान्यूगीनी, ताइवान र द प्यासिफिक आइल्याण्डलाई दिने उल्लेख छ । 

अमेरिकाले विश्वभर ८ करोड डोज खोप वितरण गर्ने घोषणा गरेको छ ।

अमेरिकाले नेपालसहितलाई खोप दिने घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अमेरिकाले नेपाललाई खोप दिने निर्णयको स्वागत गरेका छन् ।