कोरोना संक्रमित महिलाको गाउँकै आइसोलेसनमा सुरक्षित प्रसूति
२० जेठ, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्य चौकीमा एक संक्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ ।
स्थानीय २८ वर्षीया महिलाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बुधवार राति ८ः५६ बजे आइसोलेसन कक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् ।
बुधवार साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्य चौकी आएकी ती महिला र उनका पतिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
हाल सुत्केरी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्य चौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराएका स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिइन् ।
यसअघि शहरका अस्पतालमा संक्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ ।
स्वास्थ्य चौकीका इन्चार्ज घिमिरेले भने, ‘सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उहाँलाई स्वास्थ्य चौकीमा ल्याएका थियौं, महिला र उहाँका श्रीमान्को परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौं ।’
सार्दीखोला स्वास्थ्य चौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढेपछि स्वास्थ्य चौकीमा १० शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।
प्रतिकृया दिनुहोस्