इजरायलमा नेतन्याहू इराको समाप्ति, बेन्नेटलाई प्रधानमन्त्री बनाउन विपक्षीदलहरु सहमत

२० जेठ,  काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका विरोधीहरु गठबन्धन बनाएर सरकार बनाउन सहमत भएका छन् । अब इजरायलमा ८ दलको गठबन्धन सरकार बन्ने सहमति भएपछि नेतन्याहू सरकार जाने निश्चित भएको हो ।

बुधबारसम्म बहुमत साबित गर्न नेतन्याहू असफल भएपछि १२ बर्ष प्रधानमन्त्री रहेका नेतन्याहूको बहिर्गमन हुने भएको बिबिसीले उल्लेख गरेको छ ।

अब इजरायलको प्रधानमन्त्री यामिन पार्टीका नेता नफताली बेन्नेट बन्ने विपक्षीहरुको सहमति बनेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । विपक्षी दलहरुबीच नफताली र एश अतिड पार्टीका नेता यासिर लापिड पालै पालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

सहमति अनुसार नफताली २०२३ सम्म प्रधानमन्त्री बन्ने छ भने त्यसपछि बाँकी समय लापिड प्रधानमन्त्री बन्ने छन् ।

विपक्षी दलहरुले नयाँ सरकार गठन गर्नको लागि संसदमा बहुमत सिद्ध गर्नुपर्ने बताइएको छ ।  

विगत तीन दशकदेखि इजरायली राजनीतिमा नेतन्याहूको गहिरो प्रभाव छ । नेतन्याहूले प्रधानमन्त्रीका रुपमा १२ वर्ष शासन चलाइसकेका छन् ।

१२० सदस्यीय संसद (नेसेट) मा ६१ स्थान प्राप्त गर्नु पर्दछ । दुई वर्षको अवधिमा चार पटक संसदको चुनाव गर्दा समेत कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन् । हालको संसदमा १३ वटा दलको प्रतिनिधित्व रहेको छ ।