नेपाल आज चाइनिज ताइपेइविरुद्ध खेल्दै

२० जेठ,  काठमाडौँ । नेपालले आज विश्वकप  २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध खेल्दै छ । कुवेतको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा रति ९ बजेर ४५ मिनेट जादा खेल शुरु हुने छ ।

नेपालले यस अघि यसै छनौट अन्तर्गतको २०१९ को सेप्टेम्बर १० मा भएको पहिलो लिगमा  चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेकाले आजको खेलमा पनि जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।  नेपालले यस अघि खेलेका दुवै खेलमा चाइनिज ताइपेइविरुद्ध हार बेहोरेको छैन । २०१९ को जुनमै खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अब्दुल्लाह अलमुताइरीअलमुताइरीले कुवेतमा खेल्न दुवै टिमलाई मौसमका कारण कठिन हुने बताएका छन् । उनले इराकविरुद्ध खेलमा हार बेहोरेपनि धेरै सकारात्मक पक्ष रहेको बताउदै ताइपेइविरुद्ध टोली जितको लक्ष्य लिएर नै उत्रने बताए ।

उनले भने, ‘हामी समूहको चौथो स्थान पक्का गरेर एसियाली कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहन्छौं । त्यसैले पनि हामी भोली जितको लक्ष्यसहित नै उत्रनेछौं ।’

यसअघिका खेलमा र अहिले टिममा व्यापक परिवर्तन भएकाले सकारात्मक नतिजाको अपेक्षा गरिएको छ । यसबीचमा प्रशिक्षक परिवर्तन भएका छन् भने उनले युवा टिममाथि विश्वास जनाउदै कुवेत पुगेका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो शुरुवात गरेर पनि अन्त्यमा हार बेहोरेको नेपाली टिमले अब छनौट चरणमा राम्रो गर्ने आशा भने गर्न सकिन्छ ।

विश्वकप  २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गतनेपालले कुवेतसँग पहिलो खेलमा ७–० गोल अन्तरले हार बेहोरे थियो भने दोस्रो खेलमा नेपाल १–० अन्तरले पराजित भएको थियो । त्यस्तै अष्ट्रेलियासँग पहिलो खेलमा ५–० गोल अन्तरले र जोर्डनसँगको पहिलो खेलमा ३–० गोल अन्तरले पराजित भएको थियो । 

नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । जसमा आज चाइनिज ताइपेइविरुद्ध खेल्दै छ भने जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ ।

नेपाल अहिलेसम्म खेलेका ५ खेलमा १ जित र ४ हारसहित ३ अंक मात्र जोडेको छ ।

समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०-१० अंक रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ ।

राष्ट्रिय टोलीको २३ सदस्यीय टोली :

गोलरक्षक- किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार ।
डिफेन्डर- रोहित चन्द, अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास ।
मिडफिल्डर- एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान ।
फरवार्ड- अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा ।