बंगलादेशमा पक्राउ परेका ७० बाघको हत्यारा हबीब को हुन् ?

१९ जेठ,  काठमाडौँ । बंगलादेशमा ७० बाघको हत्या गर्ने हबीब तालुकदारलाई प्रहरीले पक्राउ गरेको छ । विश्वमै दुर्लभ मानिएको बाघको यति ठुलो संख्यामा मारेका हबीबको पक्राउपछि उनको चर्चा भइरहेको छ ।

उनलाई २० बर्षदेखी पक्राउ गर्ने प्रयास गत शनिबार सफल भएको बंगलादेश प्रहरीले जानकारी दिएको छ ।

हबीब २० बर्षदेखी जंगली गिरोहको सहयोगमा बच्दै आएका थिए ।

हबीबको पक्राउ बंगलादेश प्रहरीको ठुलो सफलताको रुपमा हेरिएको छ । स्थानीय मिडियाले उनलाई टाइगर हबीबको नामले पनि चिनिने उल्लेख गरेका छन् । 

स्थानीय मिडियाले हबीब भारत र बंगलादेशको सीमास्थित सुन्दरवनको म्यानग्रोब जंगलमा बसेको अवस्थामा पक्राउ गरेको उल्लेख गरेका छन् ।

विश्वकै ठुलो जंगल मानिन म्यानग्रोब जंगलमा बङ्गाल टाइगर ( बाघको एक प्रजाति) को घर मानिन्छ ।यी बाघको ठुलो संख्या यसै जंगलमा रहेको बताइएको छ ।

५० बर्षिय हबीबले आफ्नो शुरुआती दिनमा महको कारोबार गर्ने गर्दथे । उनीसँग काम गरेका उनका साथी अब्दुस सलामले हबीब एक निडर मानिस भएको बताउदै जंगलमा बाघसँग लड्न तयार हुने मानिस बताएका छन् ।

हबीबलाई प्रशासनले जंगलमा जान समेत प्रतिबन्ध लगाएको थियो । तर उनी लुकेर जंगलमा जान भने नछोडेको र अहिलेसम्म ठुलो गिरोहको संरक्षणमा बचेको बताइएको छ ।

बंगलादेशमा २०१५ को आँकडा अनुसार १०५ र २०१८ को आँकडा अनुसार ११४ बाघ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।