रियल म्याड्रिडको प्रशिक्षकमा एन्सेलोटी नियुक्त

१९ जेठ,  काठमाडौँ । फुटबल प्रशिक्षक कार्लो एन्सेलोटी रियल म्याड्रिड फर्किएका छन् ।

प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक रहेका एन्सेलोटी रियल म्याड्रिडमा जिनेदिन जिदानको ठाउ लिएका हुन् ।

रियल म्याड्रिडले तीन बर्षका लागि एन्सेलोटीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । 

जिदानले राजीनामा गरेपछि प्रशिक्षकको खोजीमा रहेको रियल म्याड्रिडले आफ्नै पूर्व प्रशिक्षक एन्सेलोटीलाई फर्काएको हो ।

२०१९ को डिसेम्बरदेखि एभर्टनको प्रशिक्षक रहेका एन्सेलोटीको यस सीजनमा एभर्टनमा त्यति भने भएन । प्रिमियर लिगमा एभर्टनले सिजनको शुरुवात राम्रो गरेपनि अन्त्यसम्म आउदा १०औ स्थानमा सिजन समाप्त गरेको थियो ।

रियलले माउरिसियो पोचेट्टीनो, एन्टोनियो कोन्टे, आफ्नै एकेडेमी प्रशिक्षक राउललाई प्रशिक्षक बनाउने प्रयास पछि एन्सेलोटीलाई फर्काएको हो ।

एन्सेलोटीले एभर्टनमा १८ महिना नेतृत्व गर्दा सहयोग गर्ने क्लब, समर्थक, खेलाडी र सबैलाई धन्यवाद दिएका छन् ।

 यस अघि रियल म्याड्रिडमा २५ जुन, २०१३ देखि २५ मे २०१५ सम्म रहेका एन्सेलोटीले एक कोपा, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

उनको नेतृत्वमा रियल म्याड्रिडले ११९ खेलमा ८९ खेल जितेको थियो । त्यस्तौ १४ बराबरी र १६ खेलमा हार बेहोरेको थियो । पहिलो कार्यकालमा रियलमा उनको जित प्रतिशत ७५ रहेको छ । जुन उनको प्रशिक्षण क्यारियरमै सबै भन्दा राम्रो हो ।