दिल्लीमा रक्सीका लागि भीड बढेपछि घरैमा पुर्‍याउने व्यवस्था

१८ जेठ, काठमाडौं । भारतको राजधानी दिल्लीमा अब घरैमा रक्सी आइपुग्ने भएको छ । 

दिल्ली सरकारले आबकारी नियममा परिवर्तन गर्दै रक्सीको होम डेलिभरीलाई स्वीकृति दिएको छ । एल–१३ लाइसेन्स भएका पसलले होम डेलिभरी गराउन पाउनेछन् । तर होस्टेल, अफिस वा अन्य संस्थानमा नभई घरमा मात्र डेलिभरी गराउन पाइनेछ । 

होम डेलिभरीका लागि याप वा वेबसाइटमा रजिस्टर गराउनुपर्छ । 

दिल्लीमा पछिल्लो लकडाउन घोषणा हुनेबित्तिकै रक्सी पसलमा भीड भएको थियो । अहिले लकडाउन केही खुकुलो बनाइएको छ तर रक्सी पसल अझै बन्द छन् । होम डेलिभरीको आरम्भसँगै माग पनि ह्वात्तै बढ्ने अनुमान गरिएको छ । 

रक्सी किन्नका लागि मरिहत्ते गर्ने दिल्लीवासीहरूले अर्डर गराउने याप र वेबसाइट नै क्य्राश गराएका छन् ।