एमाले स्थायी कमिटी बैठक शुरू, १२ नेता माथिको स्पष्टीकरणबारे छलफल हुने

१८ जेठ, काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु बैठकमा समसामयिक विषयमा छलफल हुन स्थायी कमिटी सदस्य सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । 

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका १२ पूर्वसांसद माथिको कारवाहीबारे छलफल हुने एमाले स्रोतले बतायो ।

यसअघिको स्थायी कमिटी बैठकले माधव नेपाल झलनाथ खनाल, भीम रावल लगायत ११ जनामाथि कार्वाही गरेको थियो  । यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत १२ जनालाई स्पष्टीकरण सोधेको थियो । 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा हिजो एमालेका दोस्रो तहका नेताहरुले पार्टी विवाद हल गर्नेबारे छलफल गरेका थिए ।