संसद विघटनविरुद्धको रिटको सुनुवाई आज, के होला संबैधानिक इजलास गठनको विवाद ?

१८ जेठ,  काठमाडौँ । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाई आज संबैधानिक इजलासमा हुदै छ ।

शुक्रबार र आइतबारको सुनुवाई इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ । तर इजलासमा रहेका न्यायाधिश नै विभाजित भएपछि आजको संबैधानिक इजलास कस्तो हुन्छ भन्ने कौतुहलता रहेको छ ।

इजलासमा रहेका दुई न्यायाधिश तेजबहादुर केसी र वमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि सोमबार यस सम्बन्धि निर्णय आउन सकेन । इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले  अस्वीकार गरेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आफुहरुले इजलास नछोड्ने अडान राखेको बुझिएको छ ।

संबैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधिश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताएपनि उनीहरुको प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्विकार गरेका छन् ।

संबैधानिक इजलासकै विषयमा विवाद बढेपछि न्यायाधिशद्वय कार्की र भट्टराईले रोष्टरमा रहेका न्यायाधिशसँग सोमबार छलफल गरेपनि आज निर्णयमा पुग्ने बताइएको छ । दुवैले इजलास छोड्न समेत सक्ने स्रोतले बताएको छ । यस बारेमा उनीहरुले निर्णय गरिसकेको अवस्था भने नरहेको बुझिएको छ । कार्की र भट्टराईको निर्णयले प्रधानन्यायाधीश राणालाई अप्ठ्यारोमा पारेको बताइएको छ ।

इजलास गठन नै पेचिलो बन्दै गएपछि सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई कसरी अगाडी बढाउछ भन्ने अन्योलता देखिएको छ । 

संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।