म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा

१९ माघ, काठमाडौँ । म्यान्मारमा सेनाले कू गरेको छ । गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि जारी मतभेदका बीच म्यान्मारको सेनाले नेशनल लिग फ्र डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सुचीसहित वरिष्ठ नेताहरुलाई सेनाले हिरासतमा लिएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् ।

नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले सरकार बनाउन पर्याप्त सिट जितेपनि सेनाले भने चुनावमा धाधली भएको आरोप लगाउदै आएको थियो ।

सोमबार नयाँ निर्वाचत संसदको तल्लो सदनको बैठक बस्नु अघि नै सेनाले सुकी, राष्ट्रपतिसहित शिर्ष नेताहरुलाई हिरासतमा लिएको छ भने संसद बैठक पनि स्थगित गरेको बताइएको छ ।

नेताहरुलाई हिरासतमा लिनु अघि सेनाले राजधानी नेपीटावमा इन्टरनेट सेवा बन्द गरिएको थियो । अहिले राजधानी र अन्य मुख्य शहरमा सडकमा सेना रहेको बिबिसीले उल्लेख गरेको छ ।

नोभेम्बर ८ मा भएको निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत सिट जितेको थियो ।

म्यान्मारमा २०११ सम्म सेनाले नै शासन गर्दै आएको थियो । त्यसपछि भएको यो दोस्रो निर्वाचन हो । सेनाले निर्वाचनमा धाधली भएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र निर्वाचन आयोगविरुद्ध मुद्धा दायर समेत गरेको थियो । सेनाले धाधलीविरुद्ध एक्सन लिने चेतावनी दिदै आएको थियो ।