अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

१८ माघ, सर्लाही । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ ।

ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दु: खद् भएको  संस्थाकी सहसंयोजक  अञ्जना पन्त कडरियाले बताइन् ।  ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाहभन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिइन् ।