निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्ने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५र५ जनालाई शुक्रबार बिहान साढे ११ बजे  छलफलका लागि बोलाएको बताए। 

आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो । आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोजले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो।

यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै माघ १२ पत्र पठाएको थियो।