भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थामा- विदेशमन्त्री जयशंकर

१५ माघ, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको बताएका छन् । विदेशमन्त्री जयशंकरले अल इण्डिया कन्फरेन्स अफ चाइना स्टडीजको अधिवेशनमा बोल्दै गत बर्ष लद्दाख नजिकको गलवान घाटीमा भएको झडपपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘सीमाको विषयमा दुवै देशबीच मतभेद हुनसक्छ तर हामी यो मूल कुरालाई इन्कार गर्न सक्दैनौं की सीमा क्षेत्र शान्तिपूर्ण हुनुपर्छ ।’

उनले २०२० भन्दा अगाडी सीमामा तनावका कारण १९७१ मा मात्र ज्यान गएको बताउदै गलवान घाटीको घटनापछि स्थिति तनावपूर्ण रहेको बताए ।

विदेशमन्त्री जयशंकरले चीनले यस क्षेत्रमा सुरक्षाकर्मी कम गर्ने प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउदै चीनले सीमामा शान्ति भंग गर्न सक्छ भन्ने पनि देखाएको बताए ।

उनले भारतले सीमामा आफ्नो रवैया किन बदल्यो र सुरक्षाबल किन बढायो भन्ने कुराको ठोस जवाफको प्रतिक्षामा रहेको बताए ।

सीमामा तनाव बढेपछि दुवै देशका कमाण्डर स्तरमा पटक पटक वार्ता भएपनि समस्याको समाधान भने भएको छैन । दुवै देशको सीमाको फ्रन्टलाइनमा सुरक्षाबल कम गर्ने विषयमा र डिसइन्गेजमेन्ट गर्ने सहमति भएपनि त्यसको दुवै तर्फबाट पालना भने नभएको बताइएको छ ।