आइपिएल अक्सन फेब्रुअरी १८ मा हुने, कुन टिमले कति खेलाडी किन्दै छन् ?

१५ माघ, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आइपिएलको गभर्निंग काउन्सिलले यस सिजनको आइपिएलका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा हुने जानकारी गराएको छ ।

यस अघि आइपिएल टिमहरु जनवरी २० सम्मको डेडलाइनमा आफ्ना रिटेन खेलाडी र रिलिज गरेका खेलाडीको सुची जारी गरिसकेका छन् । यस बर्षको आइपिएल भारतमै हुन्छ या बाहिर हुन्छ भन्ने अझै अनिश्चित नै रहेको छ । 

२०२० को सिजन केहि महिना ढिला गरि युएईमा सम्पन्न गरिएको थियो भने अझै पनि यस बर्षको आइपिएल युएईमा पनि हुनसक्ने अनुमान गरिएको छ । तर भारतले फेब्रुवरीमा घरेलु मैदानमै इङल्याण्डविरुद्धका सिरिज खेल्दै छ ।  इङल्याण्ड मार्च २८ सम्म भारतमा खेल्ने भएकाले आइपिएल भारतमै पनि हुनसक्ने देखिएको छ ।

भारतमै भएपनि यस अघि जस्तो होम र अवेको आधारमा नभएर केहि स्टेडियममा मात्र आयोजना गर्ने गरि पनि योजना बनिरहेको बताइएको छ ।

फेब्रुअरी १८ मा हुने अक्सनका लागि भने टिमहरुले अतिरिक्त पैसा खर्च गर्न नपाउने भएका छन् । टिमले आफ्ना खेलाडी रिलिज गरेर बचाएको पैसामा नै नयाँ खेलाडी किन्नु पर्ने भएको छ ।

आइपिएलका हरेक टिमले बढीमा ८ विदेशीसहित २५ खेलाडीको टिम बनाउनु पर्ने नियम रहेको छ । 

यसरी हेर्दा किंग्स इलेभेन पञ्जाबसँग ५३ करोड २० लाख रकम बाँकी रहेको छ भने विदेशी ५ सहित ९ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरको ३५ लारोद ९० लाख बाँकी रहेको छ भने ४ विदेशीसहित १३ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सको ३४ करोड ८५ लाख रकम बाँकी छ भने ३ विदेशी सहित ८ खेलाडीको स्थान खाली रहेको छ ।

त्यसैगरी चेन्नई सुपरकिंग्सको २२ करोड ९० लाख रकम बाँकी छ भने एक विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै मुम्बई इण्डियन्सको १५ करोड ३५ लाख रकम बाँकी छ भने ४ विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको १२ करोड ९० लाख रकम बाँकी छ भने २ विदेशीसहित ६ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै कोलकोता नाइटराइडर्सको १० करोड ७५ लाख रकम बाँकी छ भने २ विदेशीसहित ८ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादको १० करोड ७५ लाख रकम बाँकी छ भने एक विदेशीसहित ३ खेलाडीको स्थान खाली रहेको छ ।

यस अक्सनमा रहनसक्ने ठुला खेलाडीहरुमा अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेल, जेम्स पाटिसन, मिचेल स्टार्क, दक्षिण अफ्रीकाका क्रिस मोरिस, इङल्याण्डका जासन रोय, भारतका केदार जादभ, उमेश यादव, नेपाली लेग स्पिनर सन्दीप लामिछाने जस्ता खेलाडी रहेका छन् ।