प्रधानमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति
१३ माघ, काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै काँग्रेसले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेकोप्रति आपत्ति जनाएको हो ।
प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा सम्बोधन गर्दै संसद विघटनको विरोध गर्नेअह्रुदेश विरोधी बह्येको बताएका थिए ।
काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक भएको भन्दै उनको अधिनायक आकांक्षालाई थप उजागर गरेको टिप्पणी गरेको छ ।
साथै काँग्रेसले सर्वोच्च अदालतमा भई रहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ को संज्ञा दिएको प्रति अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको बताएको छ ।
काँग्रेसको विज्ञप्ति :
संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो ।
प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।
सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।
प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेका छन् । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ ।
संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।
प्रतिकृया दिनुहोस्