चिकित्सा शिक्षा क्षेत्रको शुल्क बढाइएकोमा डा. गोविन्द केसीको आपत्ति

११ माघ, काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमहरुको शुल्क बढाउन सिफारिस गरेकोमा गम्भीर आपत्ति व्यक्त गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमहरुको शुल्क बढाउन सिफारिस गरेकोमा हाम्रो गम्भीर आपत्ति छ । चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेमा अहिले शुल्क बढाइएकोमा आपत्ति जनाएका छन् ।

उनले कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा भएको बताएका छन् ।

डा. केसीको विज्ञप्ति : 

चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।

त्यसैले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँछौं । साथै हामीसित सम्झौता भए बमाोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ. ।  
डा गोविन्द केसी