आइपिएलबाट डिभिलीयर्सले कमाए एक अर्ब, बने पहिलो विदेशी खेलाडी

११ माघ, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) लाई इण्डियन पैसा लिग पनि भनिन्छ । खेलाडीका लागि पैसाको खोलो बगाइने यस लिगमा खेलाडीहरुले करोड हैन अहिलेसम्म अर्ब कमाई गरिसकेका छन् ।

रोहित शर्मा, महेन्द्र सिंह धोनी र विराट कोहलीले हरेक सिजनको १५ करोडभन्दा बडी लिने गर्दछन । यस हिसाबले उनीहरुले अहिलेसम्म अर्बभन्दा बढीको कमाई आइपिएलबाट गरिसकेका छन् ।

यसैक्रममा अब यस सुचिमा दक्षिण अफ्रीकाका आक्रामक ब्याट्सम्यान एबी डिभिलीयर्स पनि अर्ब क्लबमा जोडिएका छन् ।

आउदो सिजनका लागि डिभिलीयर्सलाई रोयल च्यालेन्जर्स बैंगलोरले रिटेन गरेपछि उनलेले आइपिएलबाट अहिलेसम्म एक अर्ब २ करोड पारिश्रमिक पाएका छन् ।

डिभिलीयर्सलाई आरसिबीले २०१८ मा ११ करोड भारतीय रुपैयामा रिटेन गरेको थियो । त्यसपछि उनले आइपिएलबाट हरेक सिजनको ११ करोड पारिश्रमिक पाइरहेका छन् । त्यसअघिका चार सिजनमा आरसिबीले डिभिलीयर्सलाई हरेक सिजनको साढे ९ करोड भुक्तानी गरेको थियो ।

त्यसअघि २०१३ सिजनमा आरसिबीले उनलाई ५ करोड ८५ लाख, २०१२ मा ५ करोड ५२ लाख र २०११ मा ५ करोड ६ लाख दिएको थियो ।

त्यसअघि २०१० मा तत्कालिन दिल्ली डेयरडेभिल्सले एक करोड ३८ लाख, २००९ मा दिल्लीले एक करोड ४७ लाख र २००८ मा एक करोड २० लाख पारिश्रमिक दिएको थियो ।

यसरी डिभिलीयर्सले आउदो सिजनसहित १४ सिजनमा एक अर्ब २ करोड ५१ लाख पारिश्रमिक बुझेका छन् ।