यसकारण मञ्चमा रिसाए नारायाणकाजी !

११ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजि श्रेष्ठले शुक्रबार काठमाडौँमा भएको विरोध कार्यक्रमको मञ्चमामा आफु रिसाएको बारे प्रष्ट पारेका छन् ।

प्रवक्ता श्रेष्ठ कार्यक्रम चलिरहेका बेला अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग रिसाएको भिडियो क्लिप भाइरल भएको थियो । सो क्रममा उनले आफुसँग कुरा गर्न आउने एक जनालाई धक्का समेत दिएका थिए ।

शनिबार राति सामाजिक संजाल मार्फत प्रवक्ता श्रेष्ठले आफु संयोजक रहेको पार्टीको संघर्ष समितिले तय गरेअनुसार कार्यक्रम नभएपछि रिसाएको बताएका छन् ।

उनले भनेका छन् –

प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं  प्रतिगामी कदमका बिरुध्द हाम्रो पार्टीद्वारा  हिजो राजधानीमा आयोजित बिरोध प्रदर्शन तथा सभा बिशाल जनसहभागिता सहित भव्यरुपमा सफल भयो।छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।

केपी ओलीजी  सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो।अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ । त्यसको निम्ति संघर्ष गर्नु पर्दछ । तव मात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन  सक्दछौं र  पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं ।

हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पुर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो । संस्थागत कार्य प्रणालीको वारेमा  सबै नेतृत्वदायी कमरेडहरुको गंभीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।

विधि पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस भन्नेमा हामीले शुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ । ख्याल गरौं ,हाम्रो अवको एउटा मुख्य चुनौति हिजो हामीले कुरा उठाए अनुसार बिधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो ।