भारतबाट आज कोरोनाविरुद्धको १० लाख खोप काठमाडौं आइपुग्दै

८ माघ,  काठमाडौं। नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ। 

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने मन्त्रालयले जनाएको छ। प्राथमिकताअनुसार खोप वितरण हुने मन्त्रालयले जनाएको छ। यसअघि औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

कोरोनाविरुद्धको खोप कोभिसिल्डमा पाइने पदार्थबाट पहिलादेखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिलाई कोरोनाको खोप लगाउन हुँदैन।