युभेन्टसले जित्यो इटालीयन सुपरकोपाको उपाधि

८ माघ, काठमाडौँ । युभेन्टसले इटालीयन सुपरकोपाको उपाधि जितेको छ ।  गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै सुपरकोपा इटालीयानाको उपाधि जितेको हो । 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए । 

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रोनाल्डोले खेलको ६४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । 

त्यस्तै मोराटाले खेलको ९५औ मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए । 

२०१८ मा रोयल म्याड्रिड छोडेर युभेन्टस आएका रोनाल्डोले युभेन्टसमा योसहित चौथो उपाधि जितेका छन् । तर यस सिजनको सिरी ए मा भने युभेन्टसको प्रदर्शन सोचेजतो हुनसकेको छैन ।  अहिले युभेन्टस सिरी ए मा पाँचौ स्थानमा रहेको छ र शिर्ष स्थानमा रहेको एसी मिलानभन्दा १० अंकले पछाडी रहेको छ । 

त्यस्तै युभेन्टसले योसहित सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेको छ भने मिलानले ७ पटक सुपरकोपा इटालीको उपाधि जितेको छ । त्यस्तै इन्टर मिलान र लाजियोले ५-५ पटक यो उपाधि जितेका छन् । यो भन्दा अघिल्लो बर्ष यो उपाधि लाजियोले युभेन्टसलाई ३-१ गोल अन्तरले पराजित गर्दै जितेको थियो ।