हिउँदमा केटू हिमालमा पहिलो पटक पुगे नेपाली, निर्मल पुर्जासहित १० जनाले बनाए किर्तिमान
४ माघ, काठमाडौँ । १० नेपाली आरोहीहरुको टोलीले विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा शनिबार सफल आरोहण गरेका छन् ।
नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको खतरनाक मानिने केटू हिमालको चुचुरोमा चढेर नयाँ किर्तिमान बनाएका छन् ।
म्याग्दीका पुर्जासहित १० नेपाली आरोही शनिबार दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएका हुन् ।
कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै उनीहरुले कटू हिमालको सफल आरोहण गरेका हुन् ।
पुर्जासहित सफल आरोहण गर्नेमा तीनवटा फरक–फरक आरोहण दलका नेपाली सदस्यहरू छन् । जसमा पुर्जाको आरोहण दलका मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा छन् । अर्को नेपाली आरोहण दलका तर्फबाट मिङमा जी, दावा तेन्जिीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहण दलबाट सोना शेर्पा छन् ।
सेभेन समिटका अनुसार ३४ वर्षयताको हिउँदयाममा केटू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू केटू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।
प्रतिकृया दिनुहोस्