बाइडेनद्वारा १.९ ट्रीलियन डलरको राहत प्याकेजको घोषणा

२ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना महामारीले मुश्किलमा परेको अर्थतन्त्रलाई राहत दिन १.९ ट्रीलियन डलरको राहत प्याकेजको घोषणा गरेका छन् ।

यो प्याकेज अमेरिकी संसदले पारित गरेमा सबै अमेरिकनले १४ सय डलर सिधै भुक्तानी पाउने छन् ।

प्याकेजमा ४१५ बिलियन डलर कोरोना भ्याक्सिनका लागि प्रयोग गरिने प्रस्ताव बाइडेनले गरेका छन् । त्यस्तै ४४० बिलियन डलर साना बिजिनेसलाई सहयोग गर्न खर्च गरिने प्रस्ताव गरेका छन् ।

अघिल्लो महिना ट्रम्पले साइन गरेको प्रति व्यक्ति ६ सय डलरको प्रस्तावको विरोध गर्दै बाइडेनले सो रकम २ हजार डलर हुनुपर्ने बताउदै आएका थिए । बाइडेनले सो रकममा १४ सय डलर थप्दै २ हजार पुर्याउने प्रस्ताव गरेका छन् ।

बाइडेनले २० जनवरीमा शपथ लिएपछि संसदमा यो प्रस्ताव पेश हुने छ ।

अहिले सिनेटमा राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पनि रहेकाले सिनेटले ट्रम्पको कार्यकाल सकिएपछि यस प्रस्तावलाई कसरी अगाडी बढाउछ भन्ने स्पष्ट भइसकेको छैन ।