जी न्यूज भन्छ- सगरमाथामा भारतले दाबी गर्नुपर्छ र नाम पनि फेरिनुपर्छ

२९ पुस, काठमाडौं । अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर कालापत्थर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय नागरिक राधानाथ सिकदरको नामबाट यसको नामाकरण हुनुपर्नेमा जर्ज एभरेष्टको नामबाट भएको दावी गरे । उनका अनुसार राधानाथले सन् १८५२ मा सगरमाथाको उचाइ मापन गरेका थिए ।

‘जर्ज एभरेस्टको नामबाट माउन्ट एभरेस्ट नामाकरण गरिएको हो । तर, जर्ज एभरेस्ट आफैं कहिल्यै पनि सगरमाथा आरोहण गरेनन् । सगरमाथाको उचाई मापन गर्ने व्यक्ति त हाम्रै भारतका राधानाथ सिकदर हुन्,’ नेपालका बारेमा पटक पटक विवादित समाचार सम्प्रेषण गर्ने जी न्युजका सम्पादन चौधरी थप्छन्, ‘उनीबाट खोसिएको श्रेय फिर्ता ल्याउनका लागि अभियान सुरु गर्न हामी एभरेष्ट पुगेका हौं ।

चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए । यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।