December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

कानून र विधिका आधारमा पार्टीको आधिकारिता टुङ्गो लगाउन माधवकुमार नेपालको आग्रह

२८ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षाका लागि सबैलाई आग्रह गरेका छन् ।

नागरिक समाजले हिजो आयोजना गरेको नागरिक भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको मर्म र भावनाको रक्षाका लागि राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गरे ।

नेकपाको संस्थापन पक्ष आफूहरु नै भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगलाई समेत त्यसबारेमा जानकारी गराइसकिएको तथा आधिकारिता दिन आग्रह गरिएको बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिका भरमा पार्टी नचली विधानसम्मत चल्ने स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको जिकिर गर्दै उनले देशलाई लोकतन्त्र र स्थायित्वका बाटामा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बताए ।

आधिकारिता टुङ्ग्याउन आग्रह

नेकपाको सो समूहले संविधान, कानून र विधिका आधारमा पार्टीको आधिकारिता टुङ्गो लगाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेता लीलामणि पोखरेलका अनुसार संविधान, राजनीतिक दल सम्बन्धी ऐन र विभाजनअघिको पार्टीको विधानमा लेखिएक आधारमा निर्णय गर्न आयोगलाई अनुरोध गरिएको छ । आयोगका पदाधिकारीसँग सो समूहका अध्यक्षद्वय नेपाल र पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत नेताले सोबारे छलफल गरेका थिए ।