November 11, 2024, Monday
२०८१ कार्तिक २६, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रधानमन्त्री ओलीको भारतीय विवादस्पद पत्रकारसँग अन्तर्वार्ता !

२८ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारत र चीनबीचका विवादमा नेपालले समन्वयकारी भूमिका खेल्नसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गएराती भारतीय न्युज च्यानल जीन्यूजका सम्पादक सुधिर चौधरीलाई अन्तर्वार्ता दिदै प्रधामन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र चीनको आगाडी नेपाल आकारमा सानो भए पनि राष्ट्रको हैसियतमा बराबर भएको बताएका छन् । उनले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको बताए

प्रधानमन्त्री ओली अन्तर्वार्तामा भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताउदै एकको कार्ड अर्कोसँग कार्ड कहिल्यै नखेल्ने पनि स्पष्ट गरेका छन् ।

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बैशाखमा हुने निर्वाचनपछि आफु फेरी सत्तामा आउने दाबी पनि गरेका छन् । उनले आफ्नो पार्टीको बहुमत नआएमा पनि ठुलो दल बन्ने दाबि गर्दै फेरी आफुले नै देशको नेतृत्व गर्ने बताए ।

त्यस्तै सम्पादक चौधरीले भारतको लद्दाख क्षेत्रमा चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गरेको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिए । प्रधानमन्त्री ओलीले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिएका थिए ।

उनले भने, ुतपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो।ु

त्यस्तै प्रधानमन्त्री ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले हिन्दी भषामा दिएको यो अन्तर्वार्ता नेपालका प्रधानमन्त्रीको रुपमा भारतीय पक्षसँग आफ्ना विषय स्पष्ट रुपमा राखेको रुपमा लिइएको छ ।

नेपालमा प्रतिनिधि सभा विघटन भएर राजनीतिक रुपमा अस्थिर बनेको, अन्य राजनीतिक दलहरु आन्दोलित भएका बेला उनको यो अन्तर्वार्तालाई अर्थपूर्ण र भारतको समर्थन उनलाई भएको सन्देश दिने किसिमले प्रस्तुत गरिएको विश्लेषण गरिएको छ ।

नेपाल बारे विवादस्पद कुरा गर्ने पत्रकार चौधरी

जीन्यूजका प्रधानसम्पादक चौधरी नेपालको विषयमा पटक पटक विवादस्पद कुरा गर्ने भारतीय पत्रकार मानिन्छन । उनले काठमाडौँ आएर ओलीसँग अन्तर्वार्ता लिएका हुन् । उनले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप समेत लगाएका थिए ।

उनले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विवादित सामग्री प्रकाशित गरेका थिए । उनले ुराष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम बनाएर प्रसारण गरेका थिए ।

त्यस्तै यसअघि गत असारमा जीन्यूजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ शिर्षकमा विवादित सामग्री प्रसारण गरेको थियो । पछि जीन्यूजले माफी माग्दै सामग्री हटाएको थियो ।

त्यस्तै सुधीर चौधरीले नेपालबारे भारतीय सेनालाई जोडेर विवादित ट्वीट गरेका थिए । त्यसको नेपाल र भारतमै पनि व्यापक विरोध भएपछि उनले सो ट्वीट हटाएका थिए ।

जीन्यूज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई जोडदार समर्थन गर्ने न्यूज च्यानलको रुपमा पनि चिनिन्छ ।