प्रचण्ड-नेपालसहितका नेकपा नेताहरु निर्वाचन आयोगमा

२७ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोग पुगेका छन् ।
सोमबार बिहान दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सुरेन्द्र पाण्डे, रामनारायण विडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
प्रचण्ड-नेपाल पक्षले आयोगलाई अहिले निर्वाचनको प्रक्रिया अगाडी नबढाउन आग्रह गर्ने बताइएको छ ।
साथै आयोगमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद पनि कायम रहेकाले यस विषयमा पनि छलफल हुने बताइएको छ ।
नेकपाको आधिकारिकता विवादलाई टुंगाउने पहल गर्दै यस अघि सात दिनको समय दिएर दुवै पक्षलाई आधिकारिकता दाबि गर्न आयोगले पत्र पठाएको थियो । पत्रमा दुवै पक्षलाई पार्टीको अध्यावधिक विवरण पेश गर्न समेत भनिएको थियो ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ मा निर्वाचनको घोषणा भएपछी अहिले नेकपा राजनीतिक रुपमा फुटेको छ भने आधिकारिकताको पक्षमा दुवै पक्ष कानुनी प्रक्रियामा रहेका छन् । त्यस्तै प्रतिनिधि सभा विघटनको विषयपनि अहिले सर्वोच्चमा सुनुवाईकै क्रममा रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अध्यक्ष र महासचिवले नबोलाई बैठक नै बस्न नसक्ने भन्दै आफुहरु नै आधिकारिक भनिरहेका छन् भने प्रचण्ड-नेपाल पक्षले आफुहरुसँग दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य रहेकाले आफुहरु नै आधिकारिक रहेको दाबि गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्