कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’
काठमाडौं – नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका घटनाहरु देखिए पनि नेकपा एउटै रहेको र विभाजित देखिएका भनिएका समूहलाई हेर्ने नजर पनि एउटै रहेको सन्देश दिएको हो ।
कांग्रेसले आइतबारको केन्द्रिय समिति बैठकबाट सरकारले गरेको संसद विघटनका बिरुद्ध स्थानीय तहको सबै भन्दा तल्लो तह वडा स्तरबाटै विरोध कार्यक्रम आयोजना गर्ने सर्वसम्मत निणर्य गरेको थियो ।
सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला आन्दोलनबारे सकरात्मक देखिएपछि कांग्रेसले सर्वसम्मत निणर्य गर्दै विरोध प्रदर्शनलाई स्थानीय तह हुँदै केन्द्रसम्म ल्याउँने निणर्य लिएको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कम्युनिष्टका कुनै पक्षसँग पनि नजिक नरही आफ्नै ताकतबाट कांग्रेस अघि बढ्ने बताए ।
‘कांग्रेस जे गर्छ आफैं गर्छ, आफैं आन्दोलनमा जान्छ, कम्युनिष्टहरुको भर हुँदैन, कांग्रेसले आफ्नै ताकतबाट आफ्नै नेतृत्वमा संसद विघटनको असंवैधानिक कदमको विरोध गर्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले हाम्राकुरासँग भने ।
कांग्रेस नेता गगन थापाले नेकपा आधिकारिक रुपमा एकै रहेको र कांग्रेसले हेर्ने नजर पनि एकै रहेको बताए ।
‘नेकपा अहिलेसम्म आधिकारिक रुपमा एउटै छ, कांग्रेसले उसलाई हेर्ने नजर पनि एकै छ, एउटै धारणा हुन्छ, नेकपाले जनविश्वास, जनमत र संविधानमाथी नै घात गर्यो,’ नेता थापाले भने ।
उनले सरकारको नेतृत्व गरेका केपी ओलीले संविधानमाथी नै सबै भन्दा ठूलो अपराध गरेको बताए ।
‘केपी ओली संविधानमाथी अपराध गर्ने मुलकर्ता हुन, उनले संसद विघटन गरेर चरम असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक काम गरे,’ थापाले भने ।
उनले नेकपाको अर्को समूह भनिएको प्रचण्ड-माधव पक्षले संसद विघटनका घटनामा असहमती राख्दै आएको देखिएपनि उनीहरु समेत सो घटनको अंसियार रहेको बताए ।
‘उहाँहरुले संसद विघटनमा असहमती त राख्दै हुनुहुन्छ, तर उहाँहरु पनि यो निणर्यको हिस्सा हो, अंसियार हो, क्षती उहाँहरुले पनि ब्यहोर्नु पर्छ,’ नेता थापाले कांग्रेसले नेकपालाई हेर्ने नजरका बारेमा धारणा राख्दै भने ।
तल्लो संरचनाबाटै विरोध
कांग्रेसले संसद विघटनको विरोधमा स्थानीय तहको सबै भन्दा तल्लो संरचना वडा तहबाटै विरोध गर्ने गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
निणर्य अनुसार कांग्रेसले संसद विघटनको विरोधमा प्रदेश निर्वाचन क्षेत्र, देशभरका पालिका तथा ति पालिकाहरुका वडाहरुमा संसद विघटनको बिरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।
कांग्रेसले पहिलो चरणको आन्दोलन स्वरुप गत १३ पुसमा प्रतिनिधि सभातर्फका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको शशक्त विरोध गरेको थियो ।
अहिले घोषित कार्यक्रम अनुसार दोस्रो चरण अन्तर्गत ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाबाट संसद विघटनको बिरोध गर्न लागेको हो ।
जसअनुसार आगामी २५ पुसमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा, ३ माघमा ७ सय ५३ पालिकामा र ८ माघमा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन आयोजना हुनेछ ।
सबै शक्ति विरोधमा लगाइदैं
कांग्रेसले संसद विघटनलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भनेको छ ।
सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थिति बनेको र नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने कांग्रेस बैठकले निणर्य लिएको हो ।
भ्रष्टाचार र कुसासन बिरुद्ध पनि केन्द्रित
बैठकले संसद विघटनको असंवैधानिक कदमको विरोधसँगै व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने समेत भनेको छ ।
समायोजनको काम टुंगियो
बैठकले अन्य राजनीतिक दल समायोजन समितिले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको बारे पेश गरेको प्रस्तावलाई पारित गरेको छ ।hamrakura
प्रतिकृया दिनुहोस्