बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

काठमाडौँ – बंगलादेशमा शरणार्थीका रुपमा रहेका रोहिङ्ग्या मुस्लिम समुदायका केही व्यक्तिलाई चार वटा नौसैनिक जहाजमा राखेर मङ्गलबार अन्यत्र स्थानान्तरण गरिएको छ । बंगलादेशले हाल रोहिङ्ग्या शरणार्थी शिविरमा निकै भिड भएको भन्दै बंगलादेशकै अर्को टापुमा केही शरणार्थीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको छ । रोहिङ्ग्या शरणार्थीलाई उनीहरुकै मुलुक म्यान्मार फर्काउने विषयमा भइरहेका प्रयास तत्कालका लागि सफल नभएपछि बंगलादेशले नयाँ कदम चालेको हो । सरकारले झण्डै एक हजार ८०० शरणार्थीले भाशान चार भन्ने टापुमा नयाँ जीवन शुरु गर्न इच्छा देखाएको जनाएको छ । यस टापुमा यसै महिनाको शुरुतिर एक हजार ६०० शरणार्थी स्थानान्तरण भइसकेका छन् । तर अधिकारकर्मीहरुले शरणार्थी स्थानान्तरण प्रक्रियामाथि शंका व्यक्त गरेका छन् । उनीहरुको भनाईमा कतिपय शरणार्थीलाई जबर्जस्ती नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । बंगलादेश सरकारले करिब १० लाख शरणार्थीमध्ये नयाँ स्थानमा एक लाखलाई नयाँ घर बनाएर राख्न चाहेको स्पष्ट पारिसकेको छ । यस टापुमा हरेक वर्ष बंगालको खाडीबाट शुरु हुने डरलाग्दा समुद्री छालले दुःख दिने गरेको छ । स्थानान्तरित हुने रोहिङ्ग्या समुदायका व्यक्तिहरुले चटगाउँबाट भाशान चारतर्फ प्रस्थान गर्नुअघि आफूसँग भएका सरसामान, खेलौना, कुखुरा समेत बोकेका थिए । साथीहरुसँग छुट्टिनुअघि उनीहरु एकअर्कासँग अंकमाल गर्दै सेल्फी खिचिरहेका थिए । बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिनले भाशान चार निर्जनजस्तो देखिए पनि यो “सुन्दर रिसोर्ट” रहेको बताउनुभयो । म्यान्मारको सैन्य कारबाहीबाट जोगिन सन् २०१७ मा ठूलो संख्यामा रोहिङ्ग्या मुस्लिम समुदाय पलायन भएर सीमावर्ती बंगलादेशमा आइपुगेका थिए । यहाँ हाल करिब १० लाख शरणार्थी छन् ।