नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।

पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट शुक्रबार नै पत्रकारसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । बैठकले पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिनेछ । “उक्त कार्यकर्ता भेलामा एकीकृत पार्टीलाई कसरी सशक्तरुपमा अगाडि बढाउने, पार्टी एकताविरुद्ध भएका षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध कसरी सङ्घर्ष अगाडि बढाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिनेछ”, उहाँले भन्नुभयो ।

राजधानीका साथै सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्ने तथा पुस २० गतेसम्म सबै गाउँपालिका र नगरपालिका र पुस २५ गतेसम्म वडास्तरमा पार्टी बैठक र भेला आयोजना गरिने निर्णय भएको जनाइएको छ । सबै जनवर्गीय तथा मोर्चा सङ्गठनको केन्द्रीय बैठक र आवश्यकताअनुसार भेला पुस १४ गतेसम्म आयोजना गरिने बताइएको छ । बैठकले विरोध कार्यक्रमलाई स्थानीयरुपमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले सङ्घर्षको कार्यक्रमलाई व्यवस्थित ढङ्गले परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा दुुई हजार ५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरिएको छ । पहिलो चरणको सङ्घर्षको कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रुपमा उच्चस्तरको कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई तत्कालै पार्टी र सङ्घर्षको कार्यक्रममा जुट्न आआफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।