बायो ग्यास र प्राङ्गारिक मलको बजार अभाव

कास्की – पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग ।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन । वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य राखेर कम्पनीले डेढ वर्षअघिबाट ग्याँस उत्पादन शुरु गरेको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि खाना पकाउने एलपिजी ग्याँसको चरम अभावपछि स्वदेशमै बायो प्रविधिबाट ग्याँस उत्पादन गर्ने योजनाअनुसार यस कम्पनीको अवधारणा आएको बताइन्छ ।

छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको एलजिपी ग्याँसको आयात न्यूनीकरण गरी देशभित्रै वैकल्पिक ऊर्जामा आत्मर्निभर बन्ने प्रयास थालनी गरेको गण्डकी ऊर्जा कम्पनीबाट उत्पादित ग्यासले अहिले बजार पाउन नसकेको गुनासो सञ्चालकहरुको छ । कम्पनीले कुहिने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । कम्पनीबाट उत्पादित ग्याँस सिलिण्डरमा भरेर घरघरमा पठाउने गरिएकामा बन्दाबन्दीपछि कम्पनीका अधिकांश ग्राहक बन्द भए । ग्राहक बन्द भएपछि कम्पनीबाट उत्पादनसमेत कम हुन थाल्यो । ग्याँसले विस्तारै बजार लिँदै गरेको अवस्थामा कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि ग्याँसका अधिकांश ग्राहक बन्द भएकाले उत्पादन क्षमता रहे पनि बजार नहुँदा पूर्ण क्षमतामा आफूहरुले उत्पादन नगरेको कम्पनीका निर्देशक कुशल गुरुङले बताउनुभयो ।

यसैगरी देशभर रासायनिक मलको हाहाकार हुँदासमेत आफूहरुको प्राङ्गारिक मल बिक्री नभएको गुनासो कम्पनीको छ । बजार नपाउँदा मल त्यसै सुकेर जाने अवस्थामा रहेको बताइन्छ । गण्डकी ऊर्जा कम्पनीले दशैँलगत्तै अन्नपूर्ण अर्गानिक मल उत्पादन गरेर बजारमा बिक्री गर्न शुरु गरे पनि बजार पाउन सकेको छैन ।

यस वर्ष बर्खायाममा कृषक लामो समय मलको प्रतीक्षामा रहे पनि प्राङ्गारिक मलको प्रवद्र्धन गर्ने सरकारको कार्यक्रम नहुँदा आफूहरुको मल बिक्री नभएको दुःखेसो उहाँको छ ।