December 14, 2024, Saturday
२०८१ मंसिर २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

बागलुङ – भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ । भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो ।

जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनःनिर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनःनिर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनःनिर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिनुभयो । “निजी आवासमा ६६ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएका छन्”, पाण्डेले भन्नुभयो, “सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।” तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ । सम्र्पकमा छैनन् २११ लाभग्राही निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचीमा समावेश भएका २११ लाभग्राही सम्झौता नै गर्न नआएको पुनःनिर्माण प्राधिकरण बागलुङले जनाएको छ ।

तीमध्ये पुनःनिर्माणतर्फका १६५ र ४६ प्रबलीकरणतर्फका लाभग्राही सम्झौता गर्न नआएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार २११ जनालाई सम्झौता गर्नका लागि यही मङ्सिर मसान्तसम्म अन्तिम समयसीमा दिइए पनि हालसम्म कोही लाभग्राही सम्र्पकमा आएका छैनन् । लाभग्राहीको सूचीमा रहेका लाभग्राहीले मङ्सिर मसान्तभित्र कार्यालयमा आई सम्झौता गर्न सक्नेछन् । हरेक स्थानीय तहको वडासम्म छुटेका लाभग्राहीलाई सम्झौता गर्नका लागि आह्वान गरिएको छ । प्रबलीकरणमा देखाएनन् लाभग्राहीले चासो भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचीमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये जम्मा दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये १२५ जनाले प्रथम किस्ताबापतको रु ५० हजार लगे पनि दोस्रो किस्ता लिन जम्मा दुई जना प्रबलीकरणतर्फका लाभग्राही आएका छन्् ।

एक सय २३ प्रबलीकरणका लाभग्राहीले घर प्रबलीकरण गर्न चासो नदेखाएको एकाइ प्रमुख पाण्डेको भनाइ छ । अलि महँगो र प्राविधिकरूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनःनिर्माण गर्न खोजेमा पुनःनिर्माणतर्फ रु तीन लाख अनुदान दिइने व्यवस्था भए पनि लाभग्राही नआएको एकाइ कार्यालयको भनाइ छ ।

प्रबलीकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुनसक्ने एकाइको अनुमान छ । घर पुनःनिर्माण गर्नका लागि तीन किस्तामा रु तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख अनुदान रकम दिइँदै आएको छ ।