दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

ओखलढुंगा – ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम थालिएको हो।

आइइइको प्रारम्भिक रिपोर्टकै आधारमा प्रत्यक्ष प्रभावित तथा अप्रत्यक्ष प्रभावित क्षेत्रमा मुआब्जादेखि पुनर्वासका काम हुनेछन्। करिब छ महिनाभित्र पूरा गर्नेगरी इटालीको इएलसी इलेक्ट्रोकन्सल्टले आयोजनाको सर्किट प्रसारण लाइनका लागि आइइइको काम थालेको हो।

दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजनास्थलदेखि धनुषाको ढल्केबरसम्मको करिब १०२ किलोमिटर दूरीमा डबल सर्किट प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनास्थल ओखलढुंगाको भदौरेदेखि धितुङ–जयराम–हिलेपानी–घुर्मी–कटारी–सिन्धुली हुँदै ढल्केबर जोड्ने प्रसारण लाइनका कारण भौतिक, सामाजिक, आर्थिक, वातावरणीय लगायतका क्षेत्रमा पुग्ने असर र प्रभावका बारेमा अध्ययन शुरू गरिएको इएलसी इलेक्ट्रो कन्सल्टले जनाएको छ। 

आइइइका क्रममा प्रत्यक्ष प्रभावित क्षेत्र मानिने टावर र तारको दायाँ–बायाँ २३/२३ मिटर तथा अप्रत्यक्ष प्रभावित क्षेत्र मानिने दायाँ–बायाँ पाँच/पाँच सय मिटर क्षेत्रमा भएका घर, बस्ती, खेतीयोग्य जमिन, वनजंगल, पहिरोलगायतका अवस्था तथा पर्ने असरबारे ‘स्याम्पल सर्भे’ शुरू गरिएको इएलसी इलेक्ट्रोकन्सल्टका आइइइ फिल्ड कोअर्डिनेटर नितेश खड्काले बताए।