दोस्रो तहका नेताले चिन्ता गर्दा जोगिएला नेकपा ?
काठमाडाैं – सत्ताको एकलाैटी बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केही दिनयता आफैं तरंगित छ। कोरोना महामारीबाट जनता आकुल-व्याकुल भएका बेला दुई अध्यक्षबीचको मतभेद र केही प्रदेशमा देखिएको लफडाले पार्टी त बदनाम हुँदैछ नै, सरकार निर्लज्ज प्रस्तुत भइरहेको छ।
यसैबीच आइतबार अपराह्न नेकपामा अर्को ‘तरंग’ उत्पन्न भयो। लामो समयदेखिको ‘तुष’ प्रचण्डले आइतबार पोखे। स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै प्रचण्डले अब प्रधानमन्त्रीसमेत रहेका ओलीसँग सहकार्य गरेर जान नसकिने बताए।
राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहितलाई लिएर नेकपा विवाद पार्टी विभाजनको छेउमै आइपुगेको हो, जहाँबाट अझै पर लाग्दा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका प्रमुख अध्यक्ष केपी शर्मा ओलीलाई निकै अप्ठ्यारो पर्नेछ।
पछिल्लो समय देखिएको उतारचढाव र आइतबार दुई अध्यक्षबीच भएको मतभेदले निम्त्याएको पार्टीभित्रको संकटलाई लिएर सत्ता र बाहिर रहेका नेताहरूले यसलाई आ-आफ्नै ढंगले व्याख्या गरे।
नेकपा नेता भीम रावलले पार्टी एकता अपरिहार्य रहेको भन्दै तत्काल स्थायी कमिटी बोलाउनुपर्ने माग गरेका छन्। उनले आइतबार साँझ एक ट्वीट गर्दै विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार भएको लेखेका छन्। उनले यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुने उल्लेख गरेका छन्।
पार्टीभित्र चरम गुटबन्दी चलिरहेको र पार्टीको झगडाले सरकार र देश नै संकटमा पर्ने भन्दै नेकपाका नेताहरू केही दिनयता चर्को रुपमा पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डप्रति रुष्ट बनिरहेका छन्।
यस्तैमा, आइतबार दिउँसो पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले पनि फेसबुकमार्फत नेकपा गम्भीर संकटतर्फ बढेको लेखेका थिए। ट्वीटरमा पनि उनले लेखेका छन्–नेकपाको अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ। साथै उनले पार्टी एकताको रक्षाका लागि अन्तरविरोध सहमतिसाथ समाधान गर्न सबैसामु उनले आग्रहसमेत गरेका छन्।
पार्टी महासचिव तथा अप्ठ्यारोमा ओलीका रक्षाकवच भएपनि विवाद तथा शक्ति सन्तुलन मिलाउन यसअघि केही हदसम्म सफल देखिएका पौडेलले विद्युतीय सामाजिक सञ्जालमा व्यक्त गरेका चिन्ताले नेकपाभित्र केही हुँदैछ भन्ने लगभग अनुमान गर्न सकिन्छ। त्यसपछि पनि साँझसम्म एकपछि अर्को गर्दै पार्टीको विवाद र अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति शीर्ष नेताहरूको चिन्ता जनाइरहेका छन्।
यसैक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटाले दिएको फरक अभिव्यक्तिले सामाजिक सञ्जालमा अर्को तरंग उत्पन्न गराइदियो। स्वार्थ र लेनदेनको एकता अर्को सम्झौतापछि मिल्छ भनी उनले ट्वीट गरे। पूर्व एमाले तथा ओलीनिकट नेता बाँस्कोटले त दुई पार्टीबीचको एकतालाई व्यापरिक स्वार्थको गठजोड नै भएको बताए। कडा शब्द प्रयोग गरी अभिव्यक्त उनको स्टाटसमा उनले
आइतबार साँझ प्रधानमन्त्रीविरुद्ध भएको खुमटार भेलामा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले भने ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए।
अध्यक्ष दाहालले फोन गरेर बोलाएपनि खुमलटार पुगेका गृहमन्त्री थापाले पार्टीको मूल जरो भएको संस्थापन (पूर्व एमाले)विरुद्ध यो कदममा प्रचण्डलाई साथ दिन मानेनन्। प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा एकलाैटी गर्दै आएपछि बारम्बार बादलसँग प्रचण्डले यसबारे सल्लाह गर्दै आएका थिए।
प्रचण्ड र बादल ।
ओलीविरुद्ध बेलाबेलामा अविश्वासको प्रस्ताव ल्याएर सरकार ढालिदिने सार्वजनिक चेतावनी दिँदै आएका प्रचण्ड बादल रिझाउन चुके। खुमलटार भेलामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल सँगै थिए। सँगै रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रचण्डको साथ दिएका त्यस भेलामा सहभागी हुनुले प्रष्ट पार्छ।
अध्यक्ष प्रचण्ड पार्टीका २५ सांसद लिएर ओलीविरुद्ध रणनीति बनाउन लागे पनि यस्ताखाले समस्या र विवाद सुल्झाउन पार्टीको हाइ कमाण्ड बैठक अपरिहार्य रहेको भनी बादलले त्यस क्रममा बताएका थिए।
उता बेलाबेलामा पार्टीभित्र उठिरहने विवाद र समस्याप्रति सकारात्मक ढंगले प्रस्तुत भइरहेका प्रवक्ता श्रेष्ठ भने आइतबारको खुमलटार भेलामा पूर्ण रुपमा प्रचण्डको साथमा उभिए। तर बादल भने प्रचण्डको विश्वासमा आएनन्। आफ्नै अडानमा रहे।thahakhabar

प्रतिकृया दिनुहोस्