एक साता भित्र प्रहरी समायोजन नगरे सर्वोच्च अदालत जाने मुख्यमन्त्री लालबाबु राउतकाे चेतावनी

आश्विन १०, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साता भित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिनु भएको छ ।

आज विहान एक संचारमाध्यम संग कुरा गर्नु हुँदै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र सो कै आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइ सकेको भएपनि समायोजनमा आलटाल गर्नु संविधान विपरित रहेको टिप्पणी गर्नु भयो ।

उहाँले प्रदेशका आन्तरिक मन्त्रीले हिजो मात्र संघीय मन्त्रालयमा पत्र लेखी प्रहरी खटन पटनको जिम्मा दिन आग्रह गरि सकेको हुँदा उक्त अवधीमा खटन पटनको अधिकार प्रत्योजन नगरिए बाध्य भएर सर्वोच्चको सवैधानिक बेन्च जाने चेतावनी दिनु भएको हो ।

गत माघ महिनामै प्रमाणीकरण भएको ऐनलाई कार्यान्वयनमा नल्याउनु संघीयता प्रतिको बेइमानी रहेको उल्लेख गर्नु हुँदै उहाँले संघीय सरकारको रबैया केन्द्रिकृत मानसिकता रहेको टिप्पणी गर्नु भयो ।

विभिन्न बहानामा संघीयतालाई नै फेल गराउने प्रयास संघीय सरकार बाट भै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले संघीयलाई फेल गराउने खेलमा लाग्नेहरु आफै समाप्त हुने चेतावनी समेत दिनु भएको छ ।