प्रधानमन्त्रीद्वारा सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

असाेज ०५ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिनुभएको छ । गत मन्त्रिपरिषद्को बैठकमा प्रम ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिनुभएको छ ।

एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा सो पुस्तक प्रकाशित भएको थियो । उच्च स्रोतका अनुसार प्रम ओलीले निर्देशन दिएलगत्तै मन्त्री पोखरेलको सचिवालयले सो पुस्तक तत्काल वितरण नगर्ने जनाएको छ ।

कूटनीतिक मर्यादाविपरीत मन्त्री पोखरेलको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको सो पुस्तकको विषयमा सरकारले गम्भीर चासो लिएको छ । सीमासँग सम्बन्धित परराष्ट्र र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाउँदै सो पुस्तकलाई तत्काल प्रतिबन्ध लगाउनसमेत आग्रह गरेको छ ।